२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पूर्ण समानुपातिक निर्वाचन प्रणालीले विकृतिको अन्त्य : अर्थमन्त्री शर्मा

मंगलवार , आश्विन १२, २०७८

काठमाडौँ, असोज । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् ।

ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन उहाँले भन्नुभयो । नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ । सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारीदिनुभयोे ।

उहाँले दलितको लागि पनि आवास योजना अघि सारिएको बताउनुभयोे । यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार