लहान, असोज । नेपाली काँग्रेस सिरहामा दशैं अगाडि नै अधिबेशन हुने भएको छ । क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि वडा अधिवेशन दशैंभन्दा अघि नै गर्ने सिरहा काँग्रेसले जनाएको छ ।
जिल्ला सभापति रामचन्द्र यादवका अनुसार नयाँ पुरानो गरी १२ हजार क्रियाशील सदस्यको नाम टुङगो लगाएपछि वडा अधिवेशनको लागि बाटो खुलेको हो । केन्द्रसँग समन्वय गरी एक दुई दिनमै मिति तय गर्ने जनाइएको छ । केन्द्रिय कमिटिबाट आनन्द ढुङगाना र जीवन परियारको टोलीले सिरहाको क्रियाशील सदस्यताबारे केन्द्रलाई बुझाएको प्रतिवेदन अनुसार क्रियाशील सदस्यको नामावली सार्वजानिक भएको उहाँले जानकारी दिएका छन ।
सार्वजनिक भएको क्रियाशील सदस्यमा अधिकांश युवा र पुरानो पुस्ता दुबै समेटिएको छ । यसवर्ष युवा ६० प्रतिशतभन्दा बढी वडाबाट चुनिएर आउने संभावना बढेको युवा नेता विष्णु गुप्ताले बताए ।
सिरहामा ४ संघीय क्षेत्र ८ प्रदेशसभा र १७ पालिकाका गरी १६५ वटा वडा छन । सर्वसम्मतिबाट नेतृत्व चयन गरिने अथक प्रयास गरिने नभए लोकतान्त्रिक विधि अनुसार चुनावबाट नेतृत्व र प्रतिनिधि चयन गरिने जिल्ला कार्यसमितिले जनाएको छ ।
क्रियाशील सदस्यको नामावली प्रकाशित गरेपछि नेतृत्वको लागि भेटघाट सुरु भएको छ । जिल्लामा सर्वसम्मति नेतृत्व चयनको लागि जिल्लाका केन्द्रिय नेता प्रदिप गिरी, पदमनारायण चौधरी चित्रलेखा यादव र सितादेवी यादवले पहल गर्नुपर्ने महासमिति सदस्य रामदयाल यादवको भनाई छ ।