ताप्लेजुङ, असोज । केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले ताप्लेजुङका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सुरु भएको पालिकास्तरीय अधिवेशनमार्फत काँग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिकांस स्थानीय तहमा सर्वसम्मत र केहीमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेस पार्टी स्रोतका अनुसार सर्वसम्मत र निर्वाचन भएका केही स्थानीय तहमासमेत शनिबार नै नयाँ नेतृत्व चयन भएका छन् भने दुईवटा स्थानीय तहमा आइतबार बेलुका सम्ममा मात्र नेतृत्य चयन गरिएका छन् ।
शनिबार नै सबै स्थानीय तहमा अधिवेशन सुरु भए पनि सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा निर्वाचन प्रक्रिया लम्बिएकाले नतिजा आउनलाई केही ढिलाइ भएको हो ।
सबैभन्दा ढिला गरी नतिजा आएको फुङ्लिङ नगरपालिकामा सुरेश सिङ्घक लिम्बू सभापतिमा निर्वाचिन भएका छन ।
यस्तै सिदिङ्वा गाउँपालिकामा प्रदीप राई सभापतिमा निर्वाचित हुनुभएको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । बाँकी सात स्थानीय तहमध्ये मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का, मिक्वाखोलामा पञ्चकुमार थलङ र सिरिजङ्घा गाउँपालिकामा लालकृष्ण चौहान निर्वाचन प्रत्रियामार्फत नै शनिबार नै नेतृत्वमा चयन भएका छन ।
आठराई त्रिबेणी गाउँपालिकामा विश्वनाथ सिटौला, मैवाखोला गाउँपालिका खगेन्द्र थक्लुङ, फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम र पाथीभरा याङ्वरक गाउँपालिमा राम थेबे सर्वसम्मत सभापतिमा चुनिए ।