असोज, पोखरा । अन्य प्रदेशको तुलनामा गण्डकीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कमजोर छ । संघीय सांसदमा कृष्णकुमार श्रेष्ठ किसान एक्लै छन् भने प्रदेशसभामा यो दलको उपस्थिति शून्य छ । स्थानीय तहमा पनि निकै कम जनप्रतिनिधिले मात्र एमाले छाडेका छन् ।
पोखरा महानगरपालिका ६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालय उद्घाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधव नेपालले भने एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गरेका छन् ।
आज देशको अवस्था किन यस्तो भयो ? एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेका छन् । जनताको नजरबाट तल खसिसकेको छ । यसको इज्जत प्रतिष्ठा गुमिसकेको छ ।
केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको भन्दै उनले त्यसको जवाफ जनताले दिने बताए । सांसदहरुले मेरो आदेश मानेनन्, म सबैको कत्लेआम् गर्दिन्छु भनेर (संसदको) हत्या गरियो,संसद भंगप्रति लक्षित गर्दै उनले भने, कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ ।
हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदैछन् । काण्डैकाण्ड देख्या छु, छानबिन होस्\ पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
नेपाल एयरलाइन्स समेत बेच्न खोजेको भन्दै उनले यति समूहसँगको सम्बन्धबारे प्रश्न उठाए । योभन्दा पहिलेको सरकार… भन्न पनि अप्ठ्यारो, एमालेको सरकार ! यति कम्पनीलाई कति काखी च्यापेको होला ? पूर्वप्रधानमन्त्री नेपालले भने, त्यो (नेपाल) एयरलाइन्स पनि यतिलाई बेच्न खोज्याथ्यो । वाइडबडी खरिद भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उनले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे छानबिन बनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् । नेपालको बोली जस्ताको तस्तै कोभिड महामारीको बेला पनि ओली सरकारले भ्याक्सिन ल्याउन कमिसनको चक्करमा किन ? अर्बौंको भ्रष्टाचारको कुरा तपाईं सुन्दै हुनुहुन्छ । वाइडबडीको कुरा भो ।
किन छानबिन हुँदैन ? यसमा कसैको संलग्नता छैन भने छानबिन किन अगाडि नबढेको ? होइन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन ? सरकारलाई भन्न चाहन्छु, प्रत्येकको छानबिन गर्ने काम शुरु गर्नुहोस् । देशलाई लुट्न पाइँदैन । कसले लुट्यो, कसले लुटेन, हामी अहिले भन्दैनौं । किनभने प्रमाणित नभएको कुरामा अरु बोल्न मिल्दैन । तर आफैं देख्या छु वाइडबडीमा । आफैं देख्या छु विमान खरिदमा ;(भ्रष्टाचार भएको) ।
एउटा भाउ दिएकोे छ, पैसा त्योभन्दा बढी दिएको छ । हामीले फाइल पठाएका छौं, तर सरकारले फाइल दराजमा थन्काइदिएको छ । कराउँछौं, चिच्याउँछौं, सुन्दैसुन्दैन । समस्या कहाँ पर्यो भने न पार्टीभित्र सुनुवाइ छ न राज्यमा सुनुवाइ छ । किनभने जब निरंकुश प्रवृत्ति हाबी हुन्छ, जबसम्म जथाभावी हाबी हुन्छ । जब व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ, जब कसैलाई टेर्दैन । संविधानको माया हुँदैन । देशको माया हुँदैन । जनताको माया हुँदैन ।