२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस वडा अधिवेशन : 'फेरि सर्दै , केन्द्रले मिति नतोक्ने '

आइतवार , आश्विन ३, २०७८

काठमाडौँ , असाेज । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनको कार्यतालिका फेरी परिवर्तन हुने भएको छ । काँग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो ।

पछिल्लो पटक परिमार्जन गरिएको तालिका अनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि वडा अधिवेशन तोकिएको थियो । तर सो मितिमा काठमाडौँ सहितका ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने पक्का भएको छ ।

बाँकी १३ जिल्लामा भने अझै केही दिन पछि मात्रै वडा अधिवेशन हुने भएको हो ।हाल तोकिएको मितिलाई केन्द्रले सार्ने छैन, अधिवेशन प्रक्रियामा गइसकेको छ, एक दुई दिन ढिला भए पनि मिति केन्द्रबाट तोकिँदैन, ७ जिल्लामा भने वडा अधिवेशन ५ गते नै हुन्छ, नेपाली काँग्रेसका एक पदाधिकारीले भने ।

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गाउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । सो कार्यदलले भने आज बिहानै विवादको समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्री द्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमामा लैजान मात्रै बाँकी रहेको बताए । कार्यदलले गर्ने काम सकेर हामीले सभापति र महामन्त्री द्वयलाई कागजात बुझायौँ अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी छ, कार्यदलका सदस्य रहेका नेता रिजालले हाम्रा कुरासँग भने ।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत नामावली सार्वजनिक गर्ने छ ।

काँग्रेसले अझै पनि १३ जिल्ला अन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न गरेको छैन । गत बुधवार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।

काँग्रेसले ९ असोजमा गाउँ/नगर अधिवेशन तोकेको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार