काठमाडौँ, असाेज । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अझै पनि भ्रष्टाचार भइरहेको बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै मुलुकमा सेटिङमा अनियमितता भइरहेको आरोप लगाए ।
ओलीले भने, 'देशमा अझै पनि भ्रष्टाचार छ । देखे कारबाही गर्ने नदेखे त फेरि, नदेखेको त एकदम राम्रै शुद्धै भइगो ! कर्मचारीले नदेखिने गरी पनि भ्रष्टाचार गर्न नहुने ओलीले बताए । एमाले निकट संगठनमा रहेका कर्मचारीले स्वच्छताको प्रतीक र उदाहरण हुनुपर्ने निर्देशन दिँदै उनले भ्रष्टाचारको विरोध गर्ने उदाहरणीय बन्नुपर्ने बताए ।
प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने नीति लिएको उनले स्मरण गरे । कर्मचारीले 'कसैले घूस दिए खान्न भन्ने हिम्मत गर्नुपर्ने' ओलीको भनाइ थियो। उनले कर्मचारीलाई सरकारले तलब दिएकाले जनताको सेवामा लाग्नुपर्ने र सरकारलाई भ्रष्टाचार गर्न नदिनका निम्ति खबरदारी पनि गर्नुपर्ने उनले निर्देशन दिए ।
कर्मचारीको कर्तव्य सेवा उपलब्ध गराउने भएकाले त्यसमा तलमाथि गर्न नहुने उनको भनाइ थियो । सरकारले सेटिङमा अर्बौँ रुपैयाँ तलमाथि पर्ने गरी करको दर हेरफेर गरेको ओलीको भनाइ थियाे। आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि दाबी गरे ।
आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अर्बौँको खेल भइसक्यो। कसरी यतिबेर यो बिचमा आएर करका दरहरू, यत्रो ठूलो ढंगले देशलाई करोडौंको, अर्बौंको मात्र होइन खर्बौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन,' उनले भने, 'मान्छेहरू खुलेआम भनिराखेका छन् यो सेटिङ हो, सञ्चार माध्यम लेखिराखेको छ, बोलिराखेको छ सेटिङ भयो। भएन भन्ने ठाउँ छैन।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिएका थिए। जुन पार्टीको सरकार भएपनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानूनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । हाम्रो काम देशको सेवा गर्ने हो। जनताको सेवा गर्ने हो। कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो। त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानून
बमोजिम, नियम, कानूनको परिधिभित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरूले सक्रियताका साथ निर्वाह गर्नुपर्छ। सरकारलाई असहयोग गर्ने होइन,' उनले भने कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पुर्याउनुपर्ने अध्यक्ष ओलीले बताए। सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरेका थिए ।