२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४औँ महाधिवेशन

शीर्ष नेताबीच छलफल : ' पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र सल्टाइने '

स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं, भदाै । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशन अन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेता सहभागी बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको पार्टी कार्यालयले जनाएको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डडेलधुरामा वडा अधिवेशन भए पनि विवादित छ । अधिवेशन हुन बाँकी अन्य २० जिल्ला मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी १३ जिल्लाको सार्वजनिक कहिले हुने अझै टुङ्गो छैन । प्रदेश २ का आठ वटै जिल्लामा वडा अधिवेशन बाँकी छ । त्यसबाहेक अन्य पाँच जिल्लामा पनि अधिवेशन बाँकी रहेको हो ।

कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न गरी सोको विवरण सार्वजनिक गरिसकेको छ भने ५७ जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो ।

बाँकी २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते तोकिएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् ।

क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । कांग्रेसले गाउँ-नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार