२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौँ, भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दशबुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु । राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उहाँको भनाइ थियो ।

राजनीति गर्दा देश र जनतालाई बिर्सियो भने त्यो कदापि काम नलाग्नेसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु ।

साथै उहाँले माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी गराउनुभयो ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गर्नुभयो ।

उहाँले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताउनुभयो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार