काठमाडौँ, भदाै । सरकारको नेतृत्व फेरिने बित्तिकै पुरानो सुकुम्वासी आयोग विघटन भएको छ र नयाँ सुकुम्वासी आयोग गठन गरिएको छ । शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । सरकारले आयोगको अध्यक्ष र उपाध्यक्ष समेत नियुक्त गरेको छ ।
आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ । निरौला यसअघि, नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घका अध्यक्ष समेत थिए । उनी काँग्रेस निकट हुन् । उपाध्यक्ष खड्का भने माओवादी केन्द्र निकट हुन् । उनी यसअघि माओवादी केन्द्र निकट किसान सङ्घमा आबद्ध थिए ।
भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले राष्ट्रिय भूमि आयोग गठन गरिएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीको हैसियतबाट बुधवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष निरौलालाई शपथ खुलाएका थिए । अध्यक्षले शपथ खाए पछि उनले उपाध्यक्ष खड्कालाई शपथ खुलाएका थिए ।
तत्कालीन केपी ओली नेतृत्व सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । उक्त आयोगलाई देउवा सरकारले विघटन गरेको थियो । सुकुम्वासीको नामा अहिलेसम्म एक दर्जनभन्दा बढी आयोग गठन भइसकेका छन् तर सुकुम्वासीको समस्या समाधान हुन सकेको छैन ।
ओली नेतृत्व सरकारले केन्द्र र ७७ वटै जिल्लामा सुकुम्वासी आयोग गठन गरेर आफ्ना कार्यकर्ता भरेको थियो । यतीसम्म कि, सुकुम्वासी समस्या नै नभएका मनाङ, डोल्पा, हुम्ला जस्ता जिल्लामा पनि ओली सरकारले सुकुम्वासी आयोग गठन गरेको थियो।