जनकपुर, भदौ । नेपाली काँग्रेसको पहिलो खुडकिलो वडा अधिबेशनको नयाँ कार्यतालिका सार्वजनिक भए लगतै नेता तथा कार्यकर्ता थप सक्रिय भएका छन । प्रदेश २ का जिल्लामा वडा अधिबेशन अन्यौलताको स्थितिमा पुगेपछि सुस्ताएका नेता तथा अहिले पुनः कार्यकर्ता अधिबेशन गराउन जुरमुराउन थालेका हुन ।यसअघिको अधिबेशन तालिका अनुसार आज २६ गतेभित्र वडा अधिबेशन भइसक्नु पथ्र्यो ।
तर, क्रियाशील सदस्यताको सूचि र निर्वाचन अधिकृत जिल्लामा नपठाइएको कारण प्रदेश २ का आठ सहित २० जिल्लामा वडा अधिबेशनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत आठवटै जिल्लामा वडा अधिबेशनको आन्तरिक तयारी भइरहेको थिए ।केन्द्रले खटाएको निर्वाचन अधिकृत र क्रियाशील सदस्यताको अन्तिम सूचि प्राप्त नभएका कारण वडा अधिबेशनको प्रक्रिया अगाडि नबढेको नेपाली काँग्रेस धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिए ।
निर्वाचन अधिकृत, अधिबेशन प्रतिनिधि र क्रियाशील सदस्यताको अन्तिम सूचि प्राप्त नभएका कारण वडा अधिबेशन पूर्व निर्वारित मितिमा गराउन नसकेको नेपाली काँग्रेस सप्तरी सभापति दिनेशकुमार यादवले जानकारी दिएका छन ।पछिल्लो तालिका अनुसार असोज ५ गतेभित्रै वडा अधिबेशन गरिने तयारीमा लागिसकेको उनले भने, हामी निर्वाचन अधिकृत र क्रियाशील सदस्यताको अन्तिम सूचिको पर्खाइमा छौ ।गाउँनगर वडा अधिबेशनको नयाँ कार्य तालिका जारी लगतै आकांक्षी थप सक्रिय भएको राजविराज नगर सभापति शम्भुलाल देवले बताए ।
पछिल्लो समय यो तालिका अब फेरबदल नहुने विश्वास सबैमा जागेको उनले भने, त्यहीँ अनुसार सम्भावित उम्मेदवार सक्रिय भएका छन ।वडा अधिबेशनमा मतदानभन्दा सर्वसम्मत गराउने आन्तरिक अभ्यास पनि जारी रहेको नगर सभापति देवले भने, सम्भवतः वडामा सर्वसम्मत नै हुन्छ ।नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समितिले शुक्रबार अधिबेशन र महाधिबेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । समितिका संयोजक महादेवप्रसाद यादवले जारी गर्नुभएको तालिकामा असोज ५ गतेभित्र बाँकी रहेको २० जिल्लाको गाउँ तथा नगर वडा अधिबेशन गराईसक्नु पर्नेछ ।त्यस्तै, ९ गते गाउँनगर अधिबेशन, १२ गते प्रदेशसभा क्षेत्रीय अधिबेशन, १५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिबेशन वा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको हकमा जिल्ला अधिबेशन, १८ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन, कात्तिक १०, ११, १२ गते प्रदेश अधिबेशन र मंसिर ९,१३ गतेसम्म पाँच दिवसीय काठमाडौमा केन्द्रीय महाधिबेशन गरिने भएको छ ।