२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधि सभा बैठक

आज संसद बैठक बस्दै : 'सरकार बजेट अध्यादेशलाई प्रतिस्थापन विधेयक पेश गर्ने तयारी'

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं, भदाै । प्रतिनिधि सभाको बैठक  आज शुक्रबार, बस्दैछ । गत बुधबार बसेको अधिवेशनको पहिलो बैठक असहज बनेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

आज संसद बैठक बस्न सहज भए सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने तयारी गरेको छ । संसदमा प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

कार्यालयलेआज विधेयक संसदमा पेश भएपछि आइतबारदेखि मात्र बजेट कार्यान्वयन गर्न सकिने जनाएको छ । संसद बैठक अवरोध भए पनि यो विधेयक पनि पेश गर्ने सरकारको योजना रहेको बताइएको छ ।

निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित घोषणालाई हटाएर न्युनतम साझा कार्यक्रम अनुसार प्रतिस्थापन विधेयक ल्याइने योजनामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार रहेको छ ।

के होला शुक्रबारे बैठक

आजको बैठक कसरी अगाडि बढ्ला भन्नेमा अन्योल छ । गत बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि बैठक असहज भएको थियो । तीन वटा बैठकमै एमाले सांसदले नाराबाजी गरेपछि वाध्य भएर सभामुख अग्निप्रसाद सापकोटाले आजसम्मका लागि स्थगित गरेका थिए ।

एमालेले आफूले हटाएका १४ जना सांसदलाई संसद बैठकमा बस्न नदिने तर्क गरिरहेको छ । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दल बनाएका माधवकुमार नेपाल लगायतका १४ सांसदलाई आफूले पार्टीबाट हटाइसकेकाले उनीहरु सांसद नरहेको एमालेको तर्क छ । तर निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ ।

आयोगले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यतासमेत दिइसकेको छ । यो अवस्थामा एमालेले अब संसद अवरुद्ध गर्नुको तुक नभएको समाजवादीका अध्यक्ष नेपालले बताएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले र जनता समाजवादी पार्टी जसपा फुट्न मद्धत गरेको थियो ।

यसअघि ओली सरकारले पनि यसैगरी अध्यादेश ल्याएको थियो । अहिले उही शैलीमा देउवा सरकारले ल्याएको अध्यादेशको भने एमालेले विरोध गरेको हो ।

संसदमा बुधबार सभामुख सापकोटाविरुद्ध नै मुर्दावादका नारा लागेपछि सापकोटाले संविधान र कानूनअनुसार आफू अगाडि बढ्ने भन्दै कारबाहीको चेतावनीसमेत दिएका छन् ।एमाले सांसदहरु अमर्यादित भएपछि सापकोटाले वाध्य भएर आक्रामक शैली अपनाएका हुन् । यो असहज परिस्थितिबीच संसद कसरी अगाडि बढ्छ भन्नेमा अन्योल छ ।

सत्ता गठबन्धन दलले संसदमा सशक्त भूमिका खेल्नका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ । तर प्रतिपक्षीसँग अहिलेसम्म छलफल भने गरेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार