२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

संसदीय दलको बैठक आज बस्दै : 'बजेटबारे आन्तरिक छलफल हुने'

बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने काम भए त्यो जिम्मेवार प्रतिपक्षी ठहरिँदैन

मंगलवार , भाद्र २२, २०७८

काठमाडा, भदौ  । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  बैठक भोलि  दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । 
बैठक ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालले  सञ्चारकर्मीलाई जानकारी दिइन । यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ ।  अधिवेशन शुरु हुनुअघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाइएको उनले बताइन् ।
सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीति के हुने ? भन्ने विषयमा विचार आदानप्रदान हुनेछ ।
सदनलाई सहज रुपमा चलाउने प्रयासमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरिरहेको उनले बताइन् । ‘बजेट लगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्ने छ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्ने हुन्छ । 
सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ,’ उनले भनिन् । एमालेसँग बजेट पास गर्न  नियमावली निलम्बन गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको उनले  जानकारी दिईन । 
सार्वजनिक रुपमा एमालेका नेताले सदनलाई चल्न नदिने भनिरहेको आफूहरुको जानकारीमा रहेको भन्दै उनले सदनलाई चल्नै नदिने रणनीति एमालेले अख्तियार गरेको खण्डमा के गर्ने ? भन्ने विषयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलबीचमा छलफल भइरहेको बताइन् ।

‘बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने काम भयो भने त्यो जिम्मेवार प्रतिपक्षी ठहरिँदैन । त्यस्तो केही गरी भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत) का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने पनि हुन सक्छ । हामी सबै विकल्पमा खुला भएर छलफल गरिरहेका छौं,’ उनले भनिन् ।



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार