काठमाडा, भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।
बैठक ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिइन । यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनुअघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाइएको उनले बताइन् ।
सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीति के हुने ? भन्ने विषयमा विचार आदानप्रदान हुनेछ ।
सदनलाई सहज रुपमा चलाउने प्रयासमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरिरहेको उनले बताइन् । ‘बजेट लगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्ने छ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्ने हुन्छ ।
सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ,’ उनले भनिन् । एमालेसँग बजेट पास गर्न नियमावली निलम्बन गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिईन ।
सार्वजनिक रुपमा एमालेका नेताले सदनलाई चल्न नदिने भनिरहेको आफूहरुको जानकारीमा रहेको भन्दै उनले सदनलाई चल्नै नदिने रणनीति एमालेले अख्तियार गरेको खण्डमा के गर्ने ? भन्ने विषयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलबीचमा छलफल भइरहेको बताइन् ।
‘बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने काम भयो भने त्यो जिम्मेवार प्रतिपक्षी ठहरिँदैन । त्यस्तो केही गरी भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत) का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने पनि हुन सक्छ । हामी सबै विकल्पमा खुला भएर छलफल गरिरहेका छौं,’ उनले भनिन् ।