काठमाडौँ, भदौ । कोरोना भाइरस संक्रमितभन्दा बुधवार निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना संक्रमित भएका छन भने तीन हजार ३० निको भएका छन् ।
चौध हजार ९३५ मा परीक्षण गर्दा दुई हजार ५२ मा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमित ३४ हजार १८९ रहेका छन् ।
अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । बुधवार नेपालमा निको हुने दर ९४।१ प्रतिशत पुगेको छ ।
यसभन्दाअघि ९३।९ प्रतिशत निको भएका थिए । यस्तै संक्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ को संक्रमणका कारणले निधन हुने गरेको छ ।
हाल ५६३ सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ होमआइसोलेसन, दुई हजार ३७७ संस्थागत आइसोलेसन र ३११ क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९।५ प्रतिशत रहेको छ ।