काठमाडौं, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए । भेटमा ठाकुर पक्षका नेताले दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखेको थिए । ठाकुर पक्षका नेता भण्डारीले भने यसबारे कुराकानी नै नभएको दाबी गरे ।
उनले भने, हामी हाम्रा मागमुद्दाबारे ध्यानाकर्षण गराउन गएका थियौं, त्यही कुरा भयो । ठाकुर पक्षका नेताहरुले नागरिकता विधेयक नल्याई प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएका छन् ।
नागरिकता अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयेक ल्याउने कुरा भएको थियो । तर अधिवेशन अन्त्य भयो, नेता भण्डारीले भने, यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका छौं ।
ठाकुर पक्षका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, त्यसअनुसार टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेमश चौधरीको रिहाईको प्रक्रिया थाल्न पनि माग गरेका छन् ।
हामीले संविधान संशोधनका लागि कार्यदल बनाएका थियौं, यसबारे पनि ध्यानाकर्षण गराएका छौं उनले भने जवाफमा प्रधानमन्त्री देउवाले भने छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् ।