काठमाडौँ, साउन । नेकपा माओवादी केन्द्रको बैठक शनिबारदेखि जारी छ । आजको केन्द्रीय समिति बैठकमा सरकार सञ्चालनबारे छलफल गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन नेतृत्वलाई सुझाव आएको जनाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफलमा नेताबाट सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको सुझाव आएको छलफलमा सहभागी एक नेताले बताए ।
बैठकमा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण र्समानुपातिक निर्वाचन प्रणालीको नीतिमा जानुपर्ने विषयमा पनि छलफल भएको स्रोतको भनाई छ । प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफलपछि सुझाव पेस हुँदा सो नीतिका विषयमा पनि बहस भएको हो ।
यसैगरी, बैठकमा एमसीसीका विषयमा पनि पार्टीले स्पष्ट धारणा दिनुपर्ने विषय छलफलमा सहभागी नेताबाटै राय आएको छ । एमसीसीका विषयमा जनताले प्रस्ट हुने गरी पार्टीले आफ्नो धारणा दिनुपर्ने भनाइ नेताबाटै आएको हो ।
बैठकमा सुझाव आठजना टोली नेता छानिएको थियो । टोली नेताबाट आएका सुझावपछि थप छलफल गरेर निर्णय लिन स्थायी कमिटी बैठक बसेको छ ।
सुझावका लागि प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूर पश्चिम प्रदेशबाट नेपबहादुर चौधरी र सम्पर्क प्रदेश, विशेष प्रदेश, प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौंलागाईंलाई चयन गरिएको थियो ।