काठमाडौं, साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रका लागि बोझ बनेको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।
राप्रपा अध्यक्ष थापाले शुक्रवार पाँच दलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले सरकार सञ्चालनका लागि प्रधानमन्त्रीलाई बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रम प्रति आपत्ति जनाउँदै प्रदेश संरचना खारेजीको माग गरेका हुन् ।
थापाले न्यूनतम साझा कार्यक्रममार्फत सरकारले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोजेकोमा आपत्ति जनाउँदै यस्तो भनेका हुन् ।
सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय समावेश हुनु गलत र आपत्तिजनक छ, वास्तवमा राष्ट्रका लागि बोझ बनेको अनावश्यक प्रदेश तह खारेज गरी स्थानीय तहलाई अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता हो ।
थापाले भनेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत राख्ने योजना अघि सारेको थियो ।