चितवन, साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिरसम्ममा हुने बताएका छन् ।
शुक्रवार चितवन पुगेका महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताए । क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको उनको भनाइ थियो । महामन्त्री कोइरालाले भने, आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।
पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भने ।
काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए । कोइरालाले पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले भने पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ ।
एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ । फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।