काठमाडौं, साउन । पछिल्ला केही दिनदेखि सामाजिक संजालमा शेयर भइरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भिडियोबारे कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ध्यानाकर्षण भएको जनाएका छन् ।
केही दिनदेखि देउवाको प्रशंसा गरेर विभिन्न व्यक्तिले बोलेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र त्यसबारे संचार माध्यमले आलोचना गर्न थालेपछि शर्माले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।
प्रवक्ता शर्माले लेखेका छन्, प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडियो । नत्र पार्टीले बनाउला । पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छु । जय नेपाल ।
त्यस्तै शर्माले अगाडि भनेका छन्, खोपदेखि भोटसम्मको यो यात्रा तीन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ । परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् ।
मलाई शेरबहादुर देउवा मनपर्छ किनभने !! शिर्षकमा माइती नेपालकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले पनि देउवाको प्रशंसा गरेकी छन् ।
त्यस्तै डा. रामेश कोइरालाले ब्यङ्गयात्मक टिप्पणी गर्दै आफैं भिडियो बनाएका छन् । विभिन्न संचारमाध्यममा प्रपोगान्डामहाधिवेशन केन्द्रीत भिडियो तयार पारिएको भनेर आलोचनात्मक समाचारहरु आउन थालेपछि प्रवक्ता शर्माले ध्यानाकर्षण गराएका हुन् ।
देउवाको बारेमा सामाजिक सञ्जालको भद्दा प्रयोगले देउवाकै आलोचना भएपछि केही नेताहरुले आपत्ति पनि जनाएका छन् । उक्त भिडियोहरु देउवाकै सचिवालयले तयार पारेको स्पष्ट पारेको छ ।