काठमाडौं, साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पदाधिकारीलाई जिम्मा दिंदै क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिमा टुंगो नलागेका वडाको विवादवाहेक विवरणमा देखिएका त्रुटीहरु सच्याएर प्रतिवेदन बुझाइएको हो । बिहीबार समितिले दोस्रो पटक प्रतिवेदन बुझाएको हो ।
बिहीबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे विवाद रहेका वडाको समस्या समाधान गर्न पाँच दिनको समय माग गरेको पनि लेखकले जानकारी दिए ।
‘पदाधिकारीहरुकै परामर्शमा बनेको मापदण्ड अनुसार २४ घन्टाको समय थप गरी विवरणमा देखिएका त्रुटी सच्याएर प्रतिवेदन बुझाएका हौं । बाँकी विवाद टुङ्याउन पदाधिकारीकै जिम्मा,’ लेखकले भने ।
छानविन समितिका प्रवक्ता प्रदिप पौडेलले आफूले तयार पारेको प्रतिवेदनका त्रुटीहरु मात्र सच्याउने भनेकाले त्यो काम सकेर जिम्मेवारी पूरा गरेको बताए ।
प्रवक्ता पौडेलले भने,‘छानबिन समितिभित्र एकमत नभएका विषय पदाधिकारी स्तरबाट टुंग्याउने मापदण्ड पहिल्यै बनेको थियो । त्यसैले पदाधिकारी स्तरबाट खोज्नुपर्ने समस्याको पहिचानसमेत गरी प्रतिवेदन बुझाएका हौं ।’ करिब एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताए ।
समितिले प्रतिवेदन बुझाए पनि सर्लाही, धनुषा, बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा जिल्लाका केही वडाको विवाद कायमै छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदा कांग्रेसको महाधिवेशन कार्यतालिका भने प्रभावित बनेको छ। साउन १२ का लागि तोकिएको वडा अधिवेशन अनिश्चित बनेको छ ।
प्रतिवेदन अनुसार हालसम्म आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्यता फाइनल भएको छ । अब विवाद रहेका वडा र विदेशस्थित जनसम्पर्क समितिको सदस्यता तथ्याकं आएपछि कुल सदस्यता संख्या टुंगो लाग्नेछ ।
हाम्राकुरा