काठमाडौं, साउन । टोकियोमा भइरहेको ३२औँ ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोड्नुभयो । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा ६१४ दशमलव पाँच अङ्क बनाउनुभएको थियो । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । परियार सागमा चौथो हुनुभएको थियो । उहाँ टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिनुभएको छ । परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उहाँ वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो हुनुभयो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।