काठमाडौं, असार । सङ्घीय संसद््को अधिवेशन आजबाट शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजे बस्दैछ ।
सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलबीच एकता अपरिहार्य रहेको बताउदै भनेका छन, मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ ।
यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ । कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ ।
नयाँ परिवेशमा नयाँ ढङ्गले जनताको आशालाई विश्वासमा परिणत गर्न सहकार्य र सहमतिका साथ संसद््लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील तथा परिपक्क तुल्याउन यसपटकको अधिवेशनले दललाई ठूलो अवसर प्रदान गरेको छ ।
उनले भने, “प्रतिनिधिसभा बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो हो, अहिलेको आवश्यकताअनुरुप त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्ने छु ।”
अदालतको गत असार २८ को प्रतिनिधिसभा पुनःस्थानाको निर्णयसँगै नेपालको राजनीतिक नयाँ कोर्षमा प्रवेश गरेको छ । उक्त निर्णयलाई राजनीतिक दलले लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यता र शक्ति पृथकीकरणसँग जोडेर आ–आफ्नो ढङ्गबाट व्याख्या तथा विश्लेषण गरिरहेका छन् ।
सबैलाई एकजुट बनाएर काम गर्छाैँ : प्रवक्ता कार्की
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले सदनमार्फत जनताका अपेक्षा पूरा गर्न सरकारले सहमति र समन्वयका साथ काम अघि बढाउने बताएका छन ।
उनले भने “सरकारको प्राथमिकता शान्ति सुरक्षा, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, सबैका लागि खोपको सुनिश्चितता, कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने हो । प्रतिनिधिसभाबाट यिनै काम अघि बढाउन सरकारलाई बल मिल्ने छ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले ठूलो बलिदानीबाट ल्याएको संविधानको रक्षाका लागि सबैलाई एकजुट बनाएर संसदीय परम्परा र अभ्यास अनुसार नै सरकार अघि बढने स्पष्ट पारेका छन।