काठमाडौं, साउन । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ। करिब ४ घन्टासम्म चलेको बैठक १४ औं महाधिवेशन केन्द्रित रह्यो।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिका कार्यप्रगति, केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका कामकारबाही र निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे आज छलफल भएको छ।
बैठकमा भएका विषयबारे जानकारी दिँदै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांश विवाद हल गरिसकिएको बताए। क्रियाशीलबारे देखिएका विवाद ७५ जिल्लामा समाधान गरिसकिएको उनको दाबी छ।
कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन्। तीमध्ये करिब ४८ हजार विदेशस्थित नेपाली जनसम्पर्क समितिको छ। नेता लेखकले छिट्टै प्रतिवेदन सभापति देउवालाई बुझाइने जानकारी दिए।
सप्तरी र बारामा आन्तरिक समायोजनका काम नै ढिलाइ हुँदा क्रियाशील वितरण प्रभावित भएको थियो। उनकाअनुसार निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे आज छलफल भएको छ। निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ।
रिजालका अनुसार पूर्वनिर्धारित समयमै महाधिवेशन हुनेछ। कांग्रेसले वडा अधिवेशन साउन १२ गते तोकेको छ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।
वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर् आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबारे र मन्त्रिमन्डल विस्तारबारे पनि कुनै छलफल नभएको दाबी लेखकको छ। ‘महाधिवेशन केन्द्रित छलफल मात्रै भयो,’ उनले भने।