२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोनाको कहर : ' श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु '

शुक्रवार , आषाढ २५, २०७८

मङ्गलबारे, असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुईको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ ।

स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेशनमा हुनुहुन्छ । छ दिनअघि उहाँलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेशनमा हुनुहुन्थ्यो । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ । इलाममा बिहीबार थप २२ मा कोरोना सङ्क्रमण देखिएको छ ।

यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१  निको भइसकेका छन् भने ५२ को यसअघि नै निधन भइसकेको थियो ।

जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५  मात्र सङ्क्रमित रहेका छन् ।

हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार