काठमाडौं। असार । नेकपा एमालेमा बिबाद बढेपछि दोस्रो तहका नेताको सक्रियतामा अनौपचारिक छलफल भएको छ .बुधबारको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल वार्तामा बसे पनि निष्कर्षमा भने पुग्न सकेनन् ।
वार्तामा पार्टीभित्रको शक्ति बाँडफाँट कसरी गर्ने भन्ने विषय नै ओली र नेपालबीच मुख्य विवाद बनेको गियो । सहमतिको सूत्र पहिल्याउन कार्यदलमा आज, बिहीबार, पनि फेरि वार्ता हुने भएको छ ।
अध्यक्ष ओलीले नेपालसँग प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसलापछि उत्पन्न हुने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सरकारको निरन्तरताका लागि ठोस प्रतिबद्धता खोजे । नेपालले भने विगतमा भन्दै आएको एक व्यक्ति एक पद, ओलीका राजनीतिक कदमको समीक्षादेखि पार्टीभित्रको भावी समीकरणसम्मका विषयमा ओलीबाट प्रतिबद्धता आउनुपर्ने विषय अघि सारेको स्रोतले बताएको छ ।
उनले पार्टीका सबै संरचनामा आफ्नो विचार समूहको शक्ति सन्तुलनको विषय उठाएका छन् । ‘अरू विषयसहित दुई नेताबीच पावर सेयरिङ गरेर एकता टुंग्याउनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ नेपाल पक्षका एक नेताले भने, ‘तर त्यसमा ओली कमरेड अझै सहमत हुनुभएको छैन । उहाँहरू (ओली–नेपाल) कार्यदल तहबाट टुंगिएर आओस् भन्ने सहमति गरेर वार्ताबाट उठ्नुभएको छ ।’ उनले सबै विषयलाई छिट्टै टुंगो लगाउने बताए ।

सुरुमा ओली–नेपालसहित महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो । उक्त छलफलमा कार्यदलमा भएका सहमतिबारे ब्रिफिङ गरिएको थियो । त्यसपछि ओली र नेपालबीच एक्ला एक्लै वार्ता भएको नेता रावलले सञ्चारकर्मीलाई जानकारी दिए । ‘
औपचारिक रूपमा सक्रिय भएपछि कार्यदल र नेतृत्व तहमा पनि कुराकानी गर्ने भन्ने हाम्रो साझा दृष्टिकोण थियो । तद्अनुरूप उहाँहरूबीच वार्ता भएको हो,’ उनले भने, ‘कुराकानी सकारात्मक छ । अझै केही विषयमा छलफल आवश्यक परे तुरुन्तै वार्ता गर्ने सहमति भएको छ ।’
लामो समयपछि ब्युँतिएको कार्यदलको लगातार तेस्रो दिनको बैठकपछि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता सम्भव भएको हो । लगातार अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरूले आइतबार नै ओली र नेपालबीच भेटवार्ता गराउने कोसिस गरेका थिए । तर शीर्ष नेताबीच सहमति हुनुअघि कार्यदल ब्युँताउनुपर्ने र त्यसले बनाएको मस्यौदामा मात्र छलफल गर्न सकिने नेपालको अडानपछि ओली–नेपाल भेटवार्ता टर्दै गएको थियो ।
आइतबार राति नेपालपक्षीय नेता रावलले बालुवाटार पुगेर भेटवार्ता गरेपछि ओली झन्डै डेढ महिनादेखि निष्क्रिय कार्यदल ब्युँताउन सहमत भएका थिए । झन्डै डेढ महिनादेखि निष्क्रिय कार्यदल ब्युँतिएपछि सक्रिय भएको थियो । त्यसपछि भएको कार्यदलको पहिलो बैठकमा नेताबीच अनौपचारिक तहमा भएका विषयवस्तुमा सामान्य छलफल भएको थियो ।