काठमाडौं, असार । नेकपा एमालेको भोलि बस्ने भनिएको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ ।एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक भोलि (बुधवार) बस्दै छ ।
सो बैठकमा नेपाल समूहका केही नेतालाई बोलाइएको भए पनि ११ नेतालाई भने बोलाइएको छैन । एमाले पार्टी कार्यालय स्रोतका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि खबर गरिएको छैन ।
नेता खनाल भने उपचारका लागि भारतमा छन् । यसअघि कारबाहीमा परेकाबाहेक अरु नेताहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको हो ।
भोलि बस्ने बैठकमार्फत यसअघि बनाइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ । एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।
सो कमिटीलाई सर्वोच्च अदालतले भने अस्वीकार गरिसकेको छ । भोलि बस्ने बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेसमेत तयारी छ ।
केन्द्रीय कमिटी रूपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः सक्रिय हुने छन् । महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरूको बारेमा टुङ्गो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बस्ने बताइएको छ ।