काठमाडौँ, असार । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूको लडाइ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको स्पष्ट पारेका छन् ।
विपक्षी गठबन्धनले शनिबार पत्रकारसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ओलीले पटक–पटकको धोका दिएका कारण आफूहरु विद्रोहमा उत्रिनुपरेको बताए ।
ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरुको मैदानमा उत्रिएको बताए ।
उनले ओलीले सत्ताबाहेक अरु नदेखेको आरोपसमेत लगाए। सो क्रममा नेता नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धोका नदिने स्पष्ट पारे ।
‘माधव नेपालले धोका दिँदैन, धोका दिने मान्छे होइन, सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिएर धोका दिने काम हुँदैन’ उनले भने । ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछोड्ने घोषणा गरेका नेपालले ओलीबाट प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको तर आफूले स्वीकार नगर्ने उनको दाबी छ ।
‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला’ नेपालको भनाइ थियो । आफूले कुनै पदका लागि लडाइँ लडेको नभइ ओलीको गलत प्रवृत्ति र गलत चिन्तनविरुद्ध उत्रिएको बताए ।