काठमाडौं, असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १४ औं महाधिवेशनको सन्दर्भमा बिहीबार केन्द्रीय कार्यसमितिमा छलफल गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिनुहुँदै नेता डा. प्रकाशशरण महतले १४ औं महाधिवेशन र यससँग सम्बन्धित अन्य निर्वाचनका सम्बन्धमा प्रस्तावित कार्यतालिकाबारे छलफल भएको जानकारी दिनुभयो ।
असार १२ गतेबाट स्थानीय तहको निर्वाचन सुरु गर्ने र जेठ २९ गते बसेको काँग्रेस पदाधिकारी बैठकले तय गरेको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने तयारीबारे बैठकमा छलफल भएको उहाँले बताउनुभयो । तथापि, निर्वाचनलगायतका कार्यतालिकाका सम्बन्धमा आगामी दिनमा थप छलफल गरिने उहाँले बताउनुभएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारी र देशमा पछिल्लो समय वर्षा मनसुन सुरु भएसँगै विभिन्न क्षेत्रमा भएको वाढी र पहिरो लगायतका प्राकृतिक विपद्का बावजुद पनि १४ औं महाधिवेशन सम्पन्न गर्ने मनसाय देखिएको काँग्रेस नेता महतले बताउनुभयो ।
कोभिड–१९ महामारीको शिलशिलामा पनि काँग्रेसका नेता, कार्यकर्ताहरु राहतमा जुटेको विषयमा पनि बैठकमा छलफल भएको नेता महतले जानकारी दिनुभयो । यसैगरी, वाढी र पहिरोलगायतका प्राकृतिक विपदबाट पीडितहरुको उद्धार तथा राहतमा संघ, प्रदेश र केन्द्र तीनै तहका सरकार तत्काल जुट्न समेत बैठकले आव्हान गरेको उहाँले बताउनुभयो ।