काठमाडौं, असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता नदेखीएकाे बताएका छन ।
मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै जसपाका अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर शङ्का उत्पन्न भएको बताएका हुन ।
‘जसपाको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमतबाट निर्णय गरी सोको प्रतिलिपिसमेत संलग्न राखी राजनीतिक सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम महन्थ ठाकुरलगायत केही सदस्यलाई पार्टी अनुशासनसम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाई अद्यावधिक गर्न दिएको पत्रका साथै निर्वाचन आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवं प्रमाणसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० गतेको बैठकले अस्वीकार गरेकोप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस विज्ञप्तिमा लेखिएको छ ।
उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको यादवको निष्कर्ष छ । ‘निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ,‘ चार जना पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा विधिवत् निष्कासन गरी सोको अभिलेख अद्यावधिक गर्न माग गरेकोमा त्यसतर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै, आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रष्ट भएको छ ।’
आयोगको उक्त निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०४७ र जसपा नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याएर अपब्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको आरोप अध्यक्ष उपेन्द्र यादवले लगाएका छन । साथै, उनले यस्तो कार्य विधिसम्मत नदेखिएको बताए ।