२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रदेश १ : बजेट अधिवेशन 

सांसदको आरोप : ‘मुख्यमन्त्रीले वित्तीय अनुशासन उल्लंघन गरे’

मंगलवार , जेठ २५, २०७८


विराटनगर, जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पूर्व आर्थिक मामिला तथा योजनामन्त्री, नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच प्रदेशसभामा आरोप प्रत्यारोप भएको छ । प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन आरम्भमै दुई नेताबीच चर्को आरोप प्रत्यारोप भएको हो । 
प्रदेश १ को चालु वर्षको बजेट असफल भएको र कार्यान्वयन गर्न समस्या परेको भन्दै मुख्यमन्त्री राईले पूर्व मन्त्रीका कारण बजेट अनुमान नमिलेको र समस्या भएको बताउनुभएको थियो । उहाँले प्रदेशमा आर्थिक अराजकता र वित्तीय अनुशासन उल्लंघन भई भयावह अवस्था आउन लागेको भन्दै त्यसलाई नियन्त्रण गर्ने प्रयत्नमा रहेको बताएका थिए । 
प्रदेशसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईबाटै सबैभन्दा धेरै गैर बजेटरी खर्च भएको दावी गरे । मुख्यमन्त्री राईले संसदमा आएर सफेद झुट बोलेको भन्दै त्यसलाई प्रष्ट पार्न जरुरी भएको आङ्बोको भनाइ थियो । 
भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट शिर्षक बाहिर गएर झण्डै ३ अर्ब रकम खर्च गरेको, बजेटभन्दा ३ अर्ब ७५ करोड बढीको योजना सञ्चालन गर्दा अर्थसँग अनुमति नलिइएको र समन्वयसमेत नगरी मुख्यमन्त्रीले वित्तीय अनुशासन उल्लंघन गरेको जानकारी सदनमा गराए । 
मुख्यमन्त्रीको कार्यालयबाट झण्डै ५४ करोड गैरबजेटरी खर्च भएको भन्दै समस्या अन्यत्र नखोज्न आङ्बोले सचेत गराएका थिए । उनले झण्डै तीनवर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा सम्हालेका मुख्यममन्त्रीले नै गैर बजेटरी खर्च र वित्तीय अनुशासन उल्लंघनको जिम्मेवारी लिनुपर्ने जिकिर गरे । 
मुख्यमन्त्री राईमाथि पूर्वमन्त्री आङ्बोले संसद बैठकमै अरु केही गम्भीर आरोपसमेत लगाए । मुख्यमन्त्री राईले १८ वटा गाडी खरिद गर्न गैरबजेटरी खर्च गर्न दवाव दिएको र त्यसलाई अस्वीकार गर्दा आर्थिकका उपसचिवको सरुवा गरेको घट्ना पनि सदनलाई जानकारी गराए । 
अर्थ मन्त्रालयले बढाउनुपर्ने सार्वजनिक खरिद नियमावली संशोधनको प्रस्ताव मुख्यमन्त्रीले नै तयार पारेर अर्थलाई पठाएको घट्नालाई पनि उहाँले आर्थिक व्यवस्थापनको गलत अभ्यासको रुपमा अथ्र्याउँदै त्यसको विरोध गर्दा मुख्यमन्त्रीसँगको सम्बन्ध बिग्रिएको स्मरण गरे । 
मुख्यमन्त्री शेरधन राईले चालु वर्षको बजेट कार्यान्वयनमा जटिलता उत्पन्न हुनुमा र सरकारका अनुमान गलत सावित हुनुमा तात्कालिन मन्त्रीको कमजोरी रहेको आरोप लगाएकोप्रति आङबोले सदनमै प्रतिवाद गरेका थिए  । 
उनले भने,  अर्थमन्त्रालयले स्रोतको अनुमान गरेर दिएको सिलिङ विपरित योजना पठाएर घटाउन नमानेका कारण बजेटको आकार बढ्न पुगेको र जबरजस्ती स्रोतको खोजी गर्नुपरेको  थियो ।  
प्रदेश १ सरकारसँग संघीय सरकारबाट ५ अर्ब थप रकम जुटाउने हैसियत नभएकै कारण पनि बजेट कार्यान्वयनमा स्रोत अभाव हुन पुगेको टिप्पणी उनको थियो । उनले भने,   ‘आर्थिक मामिलाले मन्त्रालयलाई जम्मा २९ अर्बको सिलिङ पठाएको थियो त्यसमध्ये दुई वटा मन्त्रालयबाट सिलिङभन्दा धेरै बढी योजना प्रस्ताव गरियो र घटाउन सकिएन । आन्तरिक मामिलाले सिलिङभन्दा दोब्बर र भौतिकले साढें ७ अर्बको सिलिङ पठाएकोमा १८ अर्बको योजना पठाएपछि बजेटको आकार बढेको हो ।’ 
संसदमा उभिएर पूर्व मन्त्रीमाथि दोष थोपरेर उम्किन खोज्नु राम्रो नभएको भन्दै आङ्बोले आफ्नो तर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको पनि बताए । उनले भने, ‘मेरो निर्णयका कारण कुनै एउटा योजना नियम विपरित वा बजेट बाहिरबाट गएको भए वा कुनै एउटा योजनामा गैरबजेटरी खर्च गरेको पाइए कारवाही भोग्न सँधै तत्पर छु, अर्थमन्त्रालयमा सबै विवरण सुरक्षित छन् त्यसको अध्ययन गर्न माननीय ज्यूहरुलाई आग्रह गर्छु ।’
उनले मुलुकमा दुई खाले कोभिड संक्रमण व्याप्त रहेको भन्दै राजनीतिक कोभिडको केन्द्र बिन्दु खुमलटार भएको भन्ने मुख्यमन्त्रीको भनाइको पनि प्रतिवाद गरे । नेकपा विभाजन र एमाले विभाजनको संघारमा पुग्नुलाई राजनीतिक कोभिडको संज्ञा दिनुभएका मुख्यमन्त्रीको भनाइप्रति असहमति प्रकट गर्दै उनले भने, ‘संसदमा आएर यस्तो शव्दले आरोप नलगाएको भए हुन्थ्यो । 
आरोप नै लगाउँदा पनि सफेद झुट नबोलेको भए हुन्थ्यो । किनभने संसद विघटन गलत थियो अदालतबाट प्रमाणित भइसकेको छ । यदि यो कोभिड हो भने त्यसको केन्द्रबिन्दु बालुवाटार हो । संविधान मिच्नेदेखि नेकपाको वर्तमान अवस्था, एमालेको जीवनमा देखापरेको समस्या र दोश्रो पटक प्रतिनिधिसभा विघटनको अवस्थासम्म आउँदा कोभिडको केन्द्रबिन्दु बालुवाटार हो भन्ने कुरा घाम जतिकै छर्लङ्ग छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार