काठमाडौं, जेठ । प्रदेश-२ मा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।
यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो’, दाहालले भने ।
सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् ।
तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो । यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् ।
स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश–२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए । तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे ।
यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ । १०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् ।
जसपाको यादव पक्ष (साविकको समाजवादी पार्टी, नेपाल) सँग ३० र ठाकुर पक्ष (साविकको राजपा) सँग २५ छन् । त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद थिए ।
त्यसमध्ये माओवादी केन्द्रले चारलाई निष्कासन गरेर एक लाई मनोनीत गरिसकेका कारण प्रदेशसभा १०४ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक पर्छ ।