२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माधव निकट चार नेताको पत्र

ओली पक्षसँग वार्ता : "कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं"

शुक्रवार , जेठ २१, २०७८

काठमाडौं, जेठ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् । बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

‘…वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं’, पत्रमा उल्लेख छ । शीर्ष नेताहरुलाई निष्काशनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको पत्रमा उल्लेख छ । उनीहरुले कार्यदलका सदस्यहरुलाई समेत चेतावनी दिएका छन् ।

कार्यदलमा रहने नेताहरुले सबै केन्द्रीय सदस्यहरुको प्रतिनिधित्व गर्न नसक्ने पनि उनीहरुले उल्लेख गरेका छन् । २ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

यो पनि पढ्नुहोस ओलीले सर्त नमाने अलग पार्टी बनाउने माधव समूहका जनसंगठनको चेतावनी ओलीको संकटमा परेको सरकार जोगाउन र उनको कमजोरी ढाकछोपका निम्ति विद्रोह गर्ने शक्तिलाई रोक्न नमिल्ने तर्क गरिएको छ । अहिले सहमति गर्दा अन्य दलहरुले समेत विश्वास नगर्ने पत्रमा उल्लेख छ ।

‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन’, उनीहरुको तर्क छ । सहमति भए पनि ओलीले भोलिपल्टै उल्लङ्घन गर्ने भन्दै संभावित दृष्य पनि सम्झाउने प्रयास उनीहरुले गरेका छन् ।

एमालेको दशौं महाधिवेशनमा झलनाथ खनाल वा माधव नेपाल नेतृत्वमा आउने संभावना र संसदीय निर्वाचनमा टिकटको सुनिश्चितताबारे पनि उनीहरुले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार