काठमाडौं, जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।
बैठकका लागि पार्टीको आन्तरिक तयारी नपुगेको र थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जनाएका छन ।
एमाले स्थायी कमिटी बैठक बुधबारका लागि पनि तय गरिएको थियो । तर गृहकार्य नपुगेकोभन्दै आज विहिबार ४ बजेका लागि सारिएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्थायी कमिटी सदस्य नेम्वाङ्काअनुसार नेताहरुको व्यस्तता र गृहकार्यको तयारी नपुग्दा बैठक स्थगित भएको छ ।
अब कहिले बस्नेबारे पनि टुङ्गो नलागेको बताउनुहुँदै नेता नेम्वाङले भने, “बैठक अनिश्चित्कालसम्मका लागि स्थगित भएको छ, तयारी पूरा भएपछि बस्नेछ ।”
पार्टीमा असन्तुष्ट रहनुभएका नेता माधवकुमार नेपाल पक्षका नेतासँग छलफल र वार्ता जारी रहेकाले पार्टी एकतालाई कायम गर्नलाई पनि बैठक केही समयका लागि स्थगित गरिएको नेताको बुझाई छ ।
आज नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भर्चुवल माध्यममा जारी छ । सो बैठकमा पार्टी एकताका लागि वार्ता गरिरहनुभएका दोस्रो पुस्ताका नेताले पार्टी एकताको आशा अझै समाप्त भएको ठान्न नहुने सुझाव दिएका छन ।