नेपालगञ्ज, जेठ । एक महिना अघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै संक्रमण शुन्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले संक्रमण घटेर दैनिक दुई अंकमा झरेको छ ।
गत केही दिनयता सयभन्दा पनि कम संक्रमित थपिन थालेको र मृत्यु हुनेको पनि संख्या घट्दै गएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना सहजकर्ता तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कुनै बेला संक्रमण नियन्त्रण बाहिर गएर जनमानसमा भयावह त्रास र आतंक सृजना भएपनि सबैको सामुहिक प्रयासले अहिले संक्रमण दुई अंकमा झरेको बताएका छन ।
उनले भने, बाँकेका ३ वटा प्रयोगशालामा गरिएको ३१० नमुना परीक्षणको मंगलबार साँझ आएको नतिजामा बाँकेका २५ मात्रै संक्रमित फेला परे । सोमवार पनि बाँकेमा ५१ मात्रै संक्रमित फेला परेको । सोही कारणले बुधवार विहानसम्म जिल्लाका विभिन्न अस्पतालमा ८६ वटा कोभिड बेड खाली रहेको पनि सहजकर्ता श्रेष्ठले जनाए ।
उनका अनुसार जिल्लाका विभिन्न चारवटा अस्पतालमा अझै २६१ कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । २६१ बिरामी मध्ये ११५ सिकिस्त रहेको अस्पतालले जनाएका छन् । भेरी अस्पताल नेपालगञ्जमा ३८ सिकिस्त संक्रमित रहेका छन भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ७३ , वेस्टर्न अस्पताल नेपालगञ्जमा ४ सिकिस्त संक्रमतिको उपचार भईरहेको छ ।
अस्पतालहरुमा रहेका २६१ बिरामीमध्ये, १०६ बाँके जिल्लाका वासिन्दा रहको र १५५ बाहिरी जिल्लाका बिरामी भएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । संक्रमण दर घट्दै गएर दुई अंकमा पुगेपछि जारी एक महिना १० दिनदेखि जारी निषेधाज्ञा हटाउन वा लामो छुट दिन स्थानीयले माग गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले संक्रमति भेटिने क्रम निकै कम भएकोले अब स्वास्थ्य मापदण्ड र भौतिक दुरीमा कडाई गर्दै निषेधाज्ञा हटाउनु पर्ने माग गरे ।