काठमाडौं, जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२ जना नेतालाई आज लिखित स्पष्टीकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सञ्चारकमीलाइ जानकारी दिए ।
गत सोमबारको बैठकले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ लाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्काशन गरेको थियो । १२ को स्पष्टीकरण पत्रको व्यहोरा हेरेर कुन प्रकृतिको कारवाही गर्नेबारे टुङ्गो लाग्ने नेता तामाङले बताए ।
एमाले स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टीकरणपत्र पठाएको छ ।
पार्टी कार्यालय सचिव तामाङका अनुसार २४ घण्टाको समयावधि तोकेर स्पष्टीकरणपत्र पठाइएको छ ।
सो अवधिमा उनीहरूको स्पष्टीकरणको जवाफ आएमा सोही अनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने वा जवाफ नआएमा पनि त्यही प्रकारको कारवाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
स्थायी कमिटी बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने उनले बताए ।