२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : 'वीरगञ्जमा थप पाँचको मृत्यु '

सोमवार , जेठ १०, २०७८

वीरगञ्ज, जेठ । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँचको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँच कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुई/दुई र सर्लाहीका एक रहेका छन् । वीरगञ्ज-३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि दुईदिनपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो । बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ ।

बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक दासले बताए । सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार बिहान पौने ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार