वीरगञ्ज , जेठ । पछिल्लो केही दिनयतादेखि पर्सा जिल्लामा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या र सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या घट्दो क्रममा छ ।
नारायणी अस्पतालको प्रयोगशालामा २८८ स्वाब परिक्षण गर्दा गत दुई सातादेखि सयभन्दा माथि सङ्क्रमित पुष्टि हुँदै आएकोमा अहिले केही दिनदेखि सङ्क्रमण दर घटेर सङ्क्रमितको सङ्ख्या सय मुनि पुगेकाले सङ्क्रमितको सङ्ख्या र सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या घट्दो क्रममा रहेको हो ।
जेठ ३ गते सोमबार २८८ को स्वाब परीक्षणमा ९५ मा सङ्क्रमण पुष्टि भएकोमा पर्साका ५८ रहेका थिए भने जेष्ठ ४ गते मंगलबार २८८ को स्वाब परीक्षण गर्दा १०६ मा सङ्क्रमण पुष्टि भएपनि पर्साका ७७ मात्र रहेका थिए ।
त्यस्तैगरी, जेठ ५ गते बुधबार २८८ को स्वाब परिक्षण गर्दा पर्साका ४३ सहित ८२ मा सङ्क्रमण देखिएको थियो भने जेठ ६ गते विहीबार २८८ को स्वाब परीक्षण गर्दा पर्साका ३७ सहित ५४ मा सङ्क्रमण पुष्टि भएको थियो ।
जेष्ठ ७ गते शुक्रबार गरिएका २८८ स्वाबको परीक्षणमा पर्साका ७५ सहित १०० सङ्क्रमण पुष्टि भएको छ । हरेक दिन साँझ मात्र परिक्षण रिपोर्टको जानकारी नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले गराउने गराएका छन ।
पर्सा जिल्लामा सङ्क्रमितसंगै सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पनि पछिल्लो केही दिन यता घट्दो क्रममा र छ । पर्साको वीरगञ्ज महानगरपालिकामा रहेका करिब डेढ दर्जन अस्पतालमा कोरोना सङ्क्रमितहरुको उपचार भइरहेको छ ।
बितेको दुई सातामा सङक्रमित भई मृत्यु हुनेको सङ्ख्या बढेर दैनिक ११ देखि १५ सम्म पुगेको थियो भने पछिल्लो केही दिन यता त्यो घटेर गएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा मात्रै दैनिक ८ देखि १० सङ्क्रमितको मृत्यु हुने गरेकोमा गएको मंगलबारदेखि मृत्युदर घटेर गएको छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा.दासका अनुसार बिहीवार तीनको मृत्यु भएको थियो भने शुक्रवार नारायणी अस्पतालमा एकको मृत्यु भएको छ ।