काठमाडौं, जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएकाे छ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज २ बजेका लागि आव्हान गर्नुभए पनि बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।
वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने उहाँले बताउनुभयो । बागमति प्रदेशबाट खाली रहेको एक सिटका लागि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जारीछ ।
अपारान्ह ३ बजेसम्म मतदान हुने तय गरिएको छ । एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार हुनुहुन्छ । मतदानमा नेता माधवकुमार नेपाल पक्षकाले मतदान गरेमा उहाँको जित सुनिश्चित प्रायः छ ।
पार्टीको आन्तरिक विवाद चुलिएकाबेला नेता नेपाल पक्षकाले डा. खिमलाल देवकोटालाई उम्मेदवारकोरुपमा अगाडि सार्नुभएको थियो । पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलको बैठक नियमित चलिरहेको छ । आज पनि अपरान्ह ५ बजे कार्यदलको बैठक तय गरिएको छ । आजको स्थायी कमिटी बैठकमा कार्यदलमा भएको छलफल र प्रगतिबारेसमेत व्रिफिङ हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले बजेटअघि नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको पार्टी स्रोतले बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ ।
सोअघि नै विश्वासको मत लिएर अगाडि बढ्ने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ । स्थायी कमिटी बैठकमा त्यसबारेमा समेत छलफल हुनसक्ने नेताहरुको अनुमान छ ।