२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पर्सा : 'जेठ १३ सम्म निषेधाज्ञा जारी'

बुधवार , जेठ ५, २०७८

वीरगञ्ज, जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १३ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी राख्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

डीसीसीएमसीको बैठकले कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि लगाइएको निषेधाज्ञा संक्रमणको शृंखला तोड्न उपयोगी देखिएकाले एक साता थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा समुदायस्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप गरिएको समय अनुसार निषेधाज्ञाको समय बिहीबार मध्यराति सकिंदैछ ।

पर्सामा अझै १ हजार ७९४ सक्रिय संक्रमित छन् । पहिलो चरणमा ५५ सहित कोरोना संक्रमणबाट जिल्लामा १४६ को मृत्यु भइसकेको छ । अन्य जिल्ला घर भई पर्सामा मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले जिल्लामा एन्टिजेन किटको अभाव रहेकाले प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय तथा संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि टेन्डर प्रक्रिया सम्पन्न भई सम्झौता भइसकेको अवस्थामा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न ताकेता गर्ने, कोभिड–१९ संक्रमित भएका बिरामीको उपचार गरिरहेका निजी अस्पतालले बिरामीलाई प्रवाह गरेको उपचार सेवा र बिरामीबाट लिने गरेको सेवा शुल्कका सम्बन्धमा अनुगमन टोलीमार्फत अनुगमन गर्ने निर्णय गरेको छ ।

यस्तै मेडिकल अक्सिजनको प्रयोग र प्राथमिकताको आधारमा जिल्लास्थित अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार