२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय सभा उपनिर्वाचन

बागमतीमा विहीबार हुँदै : "सबै दलका तीन उम्मेदवार, ३४८  मतदाताले मतदान गर्ने "

बुधवार , जेठ ५, २०७८

काठमाडौं, जेठ । राष्ट्रिय सभाको दुई रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । बागमती प्रदेशतर्फ रिक्त एक सदस्यका लागि भोली बिहीबार उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि अहिले मौन अवधि जारी छ । यो अवधिमा मत माग्न तथा प्रचार प्रसार गर्न पाइँदैन । बागमती प्रदेशतर्फको उपनिर्वाचनमा तीन उम्मेदवार र ३४८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

सो प्रदेशमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, र जसपा र एमालेकै माधव नेपाल समूहबाट डा.खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

यसैगरी नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार बनेका छन् । वागमती प्रदेशतर्फको उपनिर्वाचनमा आफ्नै प्रस्तावबाट देवकोटालाई उम्मेदवार बनाए पछि एमालेको नेपाल समूह यो निर्वाचनमा अग्नि परिक्षामासमेत रेको छ ।

एमाले भित्रको विवाद साम्य गर्न कार्यदल बनाएर वार्ताको चरणमा रहेका कारण नेपाल समूहले आफैंले उम्मेदवार बनाएर अघि सारेका देवकोटालाई साथ दिने की नदिने भन्नेमा धर्म संकटमा परेको हो । तर, कांग्रेस, माओवादी केन्द्र र जसपाले भने नेता नेपालकै प्रस्तावमा देवकोटालाई उम्मेदवार बनाइएको भन्दै निणर्यबाट पछि नहट्ने बताइरहेका छन् ।

उपनिर्वाचनमा बागमती प्रदेशसभाका ११०  मध्ये १०९ सांसदले मतदान गर्नेछन् । एक सांसदको भने केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको छ । यस्तै स्थानीय तहका २३८  प्रमुख र उपप्रमुखसमेत गरी कुल ३४८  मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।

बागमतीतर्फ सत्तारुढ नेकपा एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री बादलले सूर्य चिन्ह पाएका छन् । यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपाबाट उम्मेदवार बनेका देवकोटाले कलम चिन्ह पाएका छन् । नेमकिपाका उम्मेदवार तामाङले मादल चिन्ह प्राप्त गरिसकेका छन् । देवकोटा संघीयता सम्वन्धि विज्ञ समेत मानिन्छन् ।

बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् । नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । उनलाई एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेको थियो । उनीमाथि पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य पद गुमेको थियो ।

त्यसपछि बागमतीतर्फ उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि भने १७ जेठमा उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा दुईजनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २९६ मतदाता छन् । लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

उनी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए । यसैगरी कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दिर्घनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर अहिले भने उनी कांग्रेसमा आबद्ध छन् ।

उनी केही दिनअघि मात्रै कांग्रेस प्रवेश गरेका हुन् । दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार