२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सर्लाही :  'ज्वरोबाट मृत्यु हुने क्रम बढ्दा त्रास !'

बुधवार , जेठ ५, २०७८

सर्लाही, जेठ । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्युदर बढेपछि समुदायस्तरमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका बासिन्दा ज्वरो आएर बिरामी परेका छन् । 
लालबन्दी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले ज्वरोबाटै आफ्नो वडामा ५÷६ को मृत्यु भइसकेको जानकारी दिनुभयो ।  मृत्यु भएकामध्ये एकमा कोरोना सङ्क्रमण देखिए पनि अन्यको भने कोरोना परीक्षण नभएको तर लक्षण मिल्दो जुल्दो देखिएको वडाध्यक्ष भण्डारीले बताए । 
उनले सबैजसो घरमा ज्वरोका बिरामी रहेकाले त्रास झन् बढेको बताए ।  वडा नं. ५ कै शान्ति टोलमा शनिबार बिहान पनि एकको मृत्यु भएको छ । निमोनियाबाट पीडित हुनु भएका स्थानीय अन्दाजी ६५ वर्षीय लोकनाथ भुर्तेलको ज्यान गएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । 
यस्तै उता केही दिनदेखि ज्वरो आएर थलिनु भएका बरहथवा नगरपालिका–१ निवासी नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापति टीकाजङ्ग रायमाझीको उपचारका क्रममा शनिबार भरतपुरमा मृत्यु भएको छ । रायमाझीलाई पनि ज्वरो र निमोनिया देखिएको थियो । 
उनलाई आइसीयूको खोजीमा हरिवन, बर्दिवास हुँदै भरतपुर पु¥याइए पनि उपचार गर्दा गर्दै मृत्यु भएको हो । बरहथवा नगरपालिका–१ का वडाध्यक्ष रत्नबहादुर गिरीले कोरोना परीक्षण नभइरहेको तर ज्वरो आएकाको मृत्यु हुने क्रम बढेको बताए । 
आफ्नो वडामा पनि अहिले धेरै मानिस ज्वरोले थलिएका तीन÷चारको मृत्यु भइसकेको वडाध्यक्ष गिरीले जानकारी दिए । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा केही हप्ताको अन्तरालमा उच्च ज्वरो आएका चार÷पाँचको मृत्यु भइसकेको नगर प्रमुख अभयकुमार सिंहले बताएका छन । 
जिल्लामा अहिले ज्वरो, निमोनिया, टाइफाइड, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका बिरामीका कारण अस्पताल भरिभराउ भएका छन् । सरकारी स्वास्थ्य चौकी र अस्पतालमा राम्रो उपचार नहुने भन्दै बिरामी उपचारका लागि निजी अस्पताल र क्लिनिकमा धाइरहेका छन् । 
मृत्युदर र बिरामीको सङ्ख्या बढे पनि समुदायस्तरमा कोरोना परीक्षण गराउन भने बेवास्ता गरिएको छ । अहिले जिल्ला अस्पताल मलङ्गवामै कोरोना परीक्षण हुने गरेको भएपनि लक्षण देखिएका सीमित व्यक्तिले मात्रै अस्पतालमा पुगेर पीसीआर परीक्षण गराइरहेका छन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार