काठमाडौँ, भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास रहेकाे र याे समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई प्रवर्धन गर्नुपर्ने बताएका छन ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए ।
मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवास् समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले भने, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवास् समुदायले गरेको योगदान अविस्मरणीय र अद्वितीय छ ।
नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन बस्ती खोकना पृथक् सांस्कृतिक पहिचानसहित स्थापित रहेको औँल्याए ।
अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्त्वपूर्ण संस्कृतिको रूपमा रहेको बताए ।
भुटेको तोरीको तेलका लागि प्रसिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रूपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गरे ।
उनले आफ्नै उत्पादन, आफ्नै व्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताए ।
सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्द्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उनले बताए ।
खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्टियस्तरमै स्थापित गर्न आवश्यक रहेको औँल्याउँदै पुरातत्त्वविद्, इतिहासकार र अन्वेषकहरूको सहयोगमा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।
आफूहरूले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्त्वपूर्ण काम थालेका स्मरण गराउँदै उनले भने, आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको हो ।
उनले थपे, पछिल्लो पटक सरकारको नेतृत्व गरेको बेला २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलायौँ ।
अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।