काठमाडौँ, फागुन । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नेपाली कांग्रेससँग शुक्रबार छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णय गर्ने भएका छन् । बिहीबार साँझ बैठकपछि सञ्चारकर्मीहरुसँग जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषयमा निर्धारण हुने बताए ।
भोलि हामी ३ दल र नेपाली कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ, श्रेष्ठले भने, भोलिकै बैठकबाट नयाँ गठबन्ध बन्छ कि बन्दैन भन्ने विषयको निर्धारण हुन्छ । बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दलहरुबीच छलफल भए पनि ठोस सहमति भइनसकेको बताए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउने विषयमा छलफल भयो, ज्वालाले भने, हाम्रो पार्टीको सचिवालयले कांग्रेस वा अन्य दलहरु सबै राजनीतिक सन्दर्भमा कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार छलफल गरिरहेका छौं ।
उनले राष्ट्रिय सहमतिको रुपमा अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगरिने बताए । उनले पुरानो गठबन्धनमा ब्युँत्याउने विषयमा ठोस छलफल नभएको बताए ।
बिहीबार दिउँसो नै प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । उक्त बैठकपछि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गर्दै आएको छ भने जसपाले उपराष्ट्रपतिका लागि दाबी गरिरहेको छ । यसैबीच शुक्रबार तीन दलहरूसँग छलफल गर्नुअघि नेपाली कांग्रेसले पनि कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार शुक्रबार बिहान ८ बजेपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक राष्ट्रपति उम्मेदवार चयनमाथि नै केन्द्रित हुने बताइएको ।