काठमाडौं, माघ । नेकपा ( एकीकृत समाजवादी) काे अजको बैठकमा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भएको बताएका छन । अध्यक्ष नेपालले बैठकमा भने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निर्वाचनसम्म मात्रै थेगिनसक्ने देखिएका छन ।
उनले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै भने, राष्ट्रपति निर्वाचन अघि नै गठबन्धन टुट्ने अवस्था छ । ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं, खटपट सुरु भइसकेको छ । ’
ललितपुरको बालकुमारीमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भनी प्रश्नसमेत गरे ।
संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे ।
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको बताए । अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।