काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन ।
उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताएका छन ।
“ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उनले भने, “यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका छ ।
नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ ।
“राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहन सहनलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने । दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक, भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सरहानीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको बताए ।
सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवद्र्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकरात्मक रहेको उनको भनाइ छ ।