शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

महिला आन्दोलन : 'कार्यभार सीमित क्षेत्रमा मात्र कुण्ठित नगराै'

  • डेमो खबर

  • प्रकाशित: सोमवार , २०७६ फाल्गुण  २६

राजनीतिक, सामाजिक, प्रशासनिक क्षेत्रलाई चित्रमा उतार्ने हो भने त्यसमा देखिने समावेशीका सप्तरङ्ले नेपाललाई सुन्दर देखाउँछ । नेपालले समयानुकूल अनौपचारिक वा औपचारिक रूपमा साझा फूलबारीको राज्य अवधारणा लागू गर्दै आएको थियो । एकाइसौं शताब्दीमा मानव समाजका यावत मूल्य मान्यतामा परिवर्तन आएकाले यसको प्रभाव विश्व राजनीतिमा पनि पर्न गयो ।

यसैक्रममा प्रजातन्त्रका सिद्धान्त तथा अभ्यासमा नवीन आयाम देखिन थाले । प्रजातन्त्रका विश्वास, मान्यता, अभ्यासमा परिवर्तन हुँदै आए । त्यसो त प्रजातन्त्र आफैमा परिमार्जन हुँदै परिष्कृत हुने शासन प्रणाली भएकाले यसमा समयको मागअनुसार निरन्तर परिमार्जन हुन्छ नै । नेपालले औपचारिकरूपमा २०६४ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि समावेशीतालाई अङ्गिकार गर्दै २०७२ मा जारी जनता निर्मित नेपालको संविधानले मुलुकलाई समावेशीको सप्तरङ्ले आभूषित गरेको छ ।


ADVERTISEMENT

images

समावेशिताले समाजको पिंधमा रहेका महिला, दलित, जनजाति, मधेसी र पिछडिएका क्षेत्रमा बसोबास गर्नेहरूलाई मुलुकको मूलप्रवाहमा समिश्रित् हुने फराकिलो अवसर प्रदान गरेको छ । यद्यपि यस क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ ।
यसै सन्दर्भमा नेपालले पनि मनाउँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसको थप सान्दर्भिकता बढेको देखिन्छ । प्रजातन्त्रको अभ्यासमा आफूलाई नेतृत्वदायी ठान्ने विश्वका विभिन्न मुलुकलाई नेपालले सुखद् सन्देश प्रवाह गरेर भनिसकेको छ– नेपाली महिलाले राष्ट्रप्रमुख, न्यायपालिका र व्यवस्थापिकाको सफल नेतृत्व गरेर मार्च–८ को मर्मलाई व्यवहारतः आत्मसात गरेको छ ।

छोटै समयमा नेपालले महिला अधिकारको उच्चतम अभ्यास गरेको छ । यस पटक (११० औं) को महिला दिवस ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ नाराका साथ विविध कार्यक्रम गरेर मनाएको छ । विश्व समस्याका रूपमा देखिएको कोरोना (कोभिड–१९)को कारण विगतमा जस्ता ठूला र औपचारिक कार्यक्रम गरेर दिवस नमनाइए पनि नेपालले गरेको प्रतिवद्धताअनुसार अबको नेपाललाई थप समानतामूलक बनाई विद्यमान विभेद र सामाजिक हिंसाको अन्त्य गर्ने अभिभारा वर्तमान पुस्ताले लिएको सन्देश दिएको छ ।

समान कामका लागि समान ज्याला, मताधिकार र समावेशीताकाको पृष्ठभूमिमा उठेको महिला आन्दोलनले प्राप्त गरेका सफलतासँगै अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महत्व राखेको हो । दोस्रो विश्वयुद्धपछिको औद्योगिक क्रान्तिका दिनमा माग गरिएका महिला अधिकार, सन् १९०९ देखि मनाउन थालिएको श्रमिक महिला दिवस र आजको विश्व परिवेशमा व्यापक परिवर्तन आएको छ ।

त्यतिबेलाका कतिपय माग पूरा भएका मात्र छैनन् अब तिनै माग, जस्तै समान कामका लागि समान ज्याला भनेर फेरि आन्दोलन गर्नुपर्ने अवस्था छैन । समय सन्दर्भअनुसार मागमा परिवर्तन हुँदै जाने भएकाले हिजो मताधिकारका लागि गरिएको महिला आन्दोलनले आज महिलालाई ‘मतमानव’ मात्र मान्दैन बरु जनमतको नेतृत्व गर्न पाउनुपर्ने आग्रह राख्दछ ।

हिजो महिलाको विकासमा सीमित महिला आन्दोलन थपिएका नयाँ दृष्टिकोणले विकासका हरेक पाइलाजस्तै, विकासका निर्णय, विकासको नेतृत्व, स्रोत परिचालन वा विकासका प्रतिफलमा बराबरी हिस्सा स्थापनाको वकालत गर्दछ । यसरी समयअनुसार गतिशील हुने महिला आन्दोलनका माग कुनै पनि समाजमा एकै पटक पूरा हुन सक्दैनन् किनभने माग समयले निर्धारण गर्ने सुविधा र दृष्टिकोण भएकाले समयअघिनै यसलाई प्राप्त गर्न सकिँदैन ।
महिला आन्दोलन विश्वव्यापी फेनोमेनन् हो तर यसका स्वरूप र तह तत्कालीन समय तथा क्षेत्रअनुसार भिन्न हुन्छन् । अन्यथा यो आन्दोलन मेसेनरी उत्पादन बन्ने छ । आन्दोलनले आवश्यकता पूरा गर्छ अथवा आवश्यकता पूरा गर्न आन्दोलन गरिन्छ । हरेक देश वा समाजका आवश्यकता समान नहुने भएकाले त्यहाँका आन्दोलन पनि समान हुन सम्भव छैन ।

नेपाली महिला आन्दोलनले हाम्रो समाजमा विद्यमान सामाजिक सहिष्णुता, पारिवारिक एकता, मौलिक विशेषता र पहिचानलाई अझ उन्नत गर्दै विश्वमा प्रदर्शित गर्नु आवश्यक छ ।

महिला आन्दोलनका प्रतिफल सीमित क्षेत्र र वर्गमा मात्र कुण्ठित हुन नदिई आज पनि महिला अधिकार शब्द नसुनेका वा शब्दमा मात्र महिला अधिकार सुनेकाहरूलाई अधिकारको मूलप्रवाहमा ल्याउने जिम्मेवारी नेपाली महिलाले नै लिनु आवश्यक छ । यो आन्दोलन वंश र अंशको मात्र होइन यसलाई सशक्तीकरण तथा मानव क्षमता विकास र वैकल्पिक चेतना प्राप्तिको प्रेरणा पनि बनाइनु पर्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया