सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

मुलकलाई प्रयोगशालाको भट्टीमा हालेर च्याखे दाउ थाप्नेहरुलाई जनताले छाड्दैनन्

  • दावा फेन्चु लामा

  • प्रकाशित: शुक्रवार , २०७६ माघ  १७

नेपालको राजनीतिक इतिहासमा नेपाली जनताको बलिदान र आहुतीको महत्त्वपूर्ण स्थान छ । २००७ साल भन्नुस्, २०४६ साल भन्नुस या ६२/६३ को जनआन्दोलनको उपलब्धीहरु, ती वीर सहिदहरुको रगत पसिना र बलिदानीको खातिर हामीले अहिले उपभोग गरिराखेका छौँ । भलै राज्यको बागडोर सम्हालेका र उच्च नेतृत्व पंक्तिमा रहेका कथित व्यक्तिहरुको खराब आचरणका कारण जनताको रगतले लेखिएका अग्रगामी परिवर्तनको सपनाहरु तुहिएको भने यथार्थ हो ।

राजनीतिक नेतृत्वले गरिब, मजदुर, पिछडिएका र उत्पीडनमा परेका जातजाति, वर्ग, लिङ्ग सबैलाई मुक्तिको रंगीन सपना देखाएर आन्दोलित बनाए, आन्दोलनमा सरिक गराए त्यही आन्दोलनको बलमा विभिन्न व्यवस्था ढाले नयाँ व्यवस्था उदाए तर नेताले भन्ने गरेको उदाउँदो नयाँ व्यवस्थामा दुई छाक खानका लागि जीवन संघर्ष गरिराखेका ती मजदुर किसानको जीवनस्तरमा एक झुल्को मुक्तिको नयाँ किरण उदाएन।


ADVERTISEMENT

images

हामीले नयाँ नेपालको परिकल्पना गर्दैगर्दा र यो देशको मुहार फेर्ने खाका कोर्दैगर्दा हामीले व्यवस्थालाई बाधक देख्यौँ र पटक पटक फरक फरक व्यवस्था परिवर्तन गर्दै आयौं । यसले केही हदसम्म राहत त महशुस गर्न सक्यौँ होला तर हामीले परिकल्पना गरेको जस्तो आमूल परिवर्तनको मार्ग पछ्याउन सकेन ।

हामीले अग्रगामी परिवर्तनको खातिर राणा शासनलाई बाधक देख्यौं फाल्यौ, पञ्चायत गलत भन्यौं फाल्यौ, संवैधानिक राजतन्त्र भन्यौँ प्रयोग गर्यौँ त्यसले नि भएन फाल्यौँ, मुलुकको समृद्धिको लागि नयाँ संविधान भन्यौँ, गणतन्त्र भन्यौं , संघीयता भन्यौँ हेर्यौँ त्यसबाट पनि जनताले चित्तबुझ्दो परिणाम महशुस गर्न सकेन । यत्तिले भएन हामीलाई विकास र समृद्धिका लागि स्थिर सरकारको आवश्यकता ठान्यौँ भन्यौं पायौँ, अझै दुई तिहाईको सरकार माग्यौँ पायौँ तर परिणाम जस्ताको तस्तै ।

यसैगरि राजनीतिक नेतृत्वले मुलुकलाई पटक पटक प्रयोगशाला बनाईरख्यो यसमा नेपाली जनताले निरन्तर साथ दिदै गए तर जनताको जीवनस्तर ज्युँका तीँ रह्यो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि सामाजिक आर्थिक रुपान्तरण हुन सकेन ।जनताले चाहेको परिवर्तन यो पटक्कै होइन । हामीलाई थाहा छ मुलुक बन्न समय लाग्छ । मुलुक १ मिनेटमा बदलिदैन तर १ मिनेट गम्भीर भएर सोचेर लिएको निर्णयले मुलुक बदल्न सकिन्छ ।

हामीले जीवनभर आफु र आफ्ना सन्ततीका लागि सोच्यौँ संघर्ष गर्यौँ लड्यौँ उठ्यौँ तर राष्ट्रको सपथ खाएर मुलुकको बागडोर सम्हालेका शासकले एकपल्ट गम्भीर भएर मेरो कार्यकालमा म यो राष्ट्र, राष्ट्रियता र जनताको जीवनस्तर उन्नतिको लागि संघर्ष गर्छु भनेर दत्तचित्त लाग्यो भने मुलुकको काँचुली दिनको रातमा फेर्न सकिन्छ ।

परन्तु हामीले व्यवस्था बदल्यौँ तर आचरण बदलेनौ, नियति बदल्यौँ तर नियत बदल्न सकेनौं, शासक बदल्यौ तर जनताको जीवनस्तर बदल्न सकेनौँ। हामीले मुलुकलाई निश्चित गन्तव्य डोर्‍याउन सक्ने नेतृत्व पाएनौं । नेतृत्व दलगत स्वार्थ र व्यक्तिगत लालचमा लिप्त देखियो । राजनितिज्ञहरुले राजनितीलाई सेवा नभई व्याबसाय ठाने, जनप्रतिनिधिले जनताको सेवामुखी नभई आफू सेवाभोगी ठाने ।

यसैका कारण राजनिती र राजनितीकर्मी माथि आम जनताको बुझाई नकारात्मक छ । राजनीतिज्ञ र जनप्रतिनिधिले सार्वजनिक पद धारण गर्दा मानवीय चरित्र मध्येका डर, त्रास, मोह, लोभ, लालच, आदि चरित्रलाई त्याग्न सकेनन र यहि क्रमलाई निरन्तरता दिदै जाने हो भने जनताले नयाँ विकल्प खोज्नेछ । अब पनि नेतृत्वको आचरणमा परिवर्तन आएन भने सचेत नेपाली जनता चुप लागेर बस्ने छैन ।
अबको विकल्पमा कुनै व्यवस्था रोज्नेछैन, कुनै राजनैतिक दल रोज्नेछैन, कुनै अमुक व्यक्ति रोज्नेछैन कुनै आस्था र विचारधारा रोज्नेछैन अबको विकल्प मानव निर्मित रोबोटको विकल्प हुनेछ । जसमा मानवीय सम्वेदना हुदैन । उसंग कसैप्रति बहिरभाव हुदैन, सम्पति, पदको लोभ हुदैन । जसले पोग्रामिङ अनुसार काम गर्नेछ । जापानको टामामा पनि मेयरको लागि Michihito Matsuda नामक रोबोटले उम्मेदवारी दिइएको थियो ।


सभापति,
नेपाली कांग्रेस तेमाल-५ काभ्रे

 

 

 
 

तपाईको प्रतिक्रिया

फेसबुकबाट तपाईको प्रतिक्रिया