• आज : Monday 28 May 2018
    1:22:20 NST

करुणा फाउन्डेसनले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं, फागुन । अपाङ्गताको क्षेत्रमा काम गर्ने नेपाली गैरसरकारी संस्था करुणा फाउन्डेसनले हालै दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) हासिल गरेको छ । 
करुणाद्वारा इलाम जिल्लामा सञ्चालित ‘हेरचाहको लागि उत्प्रेरणा कार्यक्रम’ लाई ‘उच्च सम्भावनायुक्त समाधान’ भन्दै अन्तर्राष्ट्रिय अवार्डका लागि छानिएका ४०० प्रतिस्पर्धीमध्येबाट अन्तिम १० मा समावेश गरिएको हो । 
अस्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा आयोजित विशेष समारोहमा करुणालाई उक्त अवार्ड दिइएको हो । 
फ्रेब्रुअरी २१ देखि २३ सम्म भियनामा आयोजित ‘जिरो प्रोजेक्ट कन्फ्रेन्स’ मा करुणाले सञ्चालन गरेको परियोजनालाई ‘सफल मोडल’ को संज्ञा दिँंदै सहभागीहरुले प्रशंसा गरेका थिए । 
परियोजनाबाट ५ हजारभन्दा बढी लाभान्वित भइसकेका छन् । उत्कृष्ट १० मा पर्नुका साथै करुणा ‘पहुँचको लागि नयाँ अभ्यास’ विधामा समेत छनोट भएको छ । 
कार्यक्रममा भियनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका लागि नायब स्थायी प्रतिनिधि अम्बर बहादुर कार्कीको पनि उपस्थिति थियो ।
विभिन्न देशमा सञ्चालित प्रभावकारी र उच्च सम्भावनायुक्त परियोजनाको खोजी गर्दै जिरो प्राजेक्ट र अशोकाले संयुक्तरूपमा अवार्डको घोषणा गरेका हुन् । 
जिरो प्रोजेक्ट ईएसएसएल फाउन्डेसनद्वारा सञ्चालित परियोजना हो जसले विश्वभर अपाङ्ताको क्षेत्रमा काम गर्छ । अन्तर्राष्ट्रिय संस्था अशोकाले विश्वभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्दै आएको छ । 
अपाङ्ता भएका व्यक्तिको लागि लाभदायी हुने नयाँ र प्रभावकारी समाधानलाई अन्तर्राष्ट्रियकरण गर्न ईएसएसएल फाउन्डेसन र अशोकाले सहकार्य गरेका छन् । 
अपाङ्ता भएका व्यक्तिका लागि अवरोधमुक्त विश्व निर्माणको लागि सहकार्य गरेको दुवै संस्थाले जनाएका छन् । करुणा फाउण्डेसनले हेरचाहको लागि उत्प्रेरणा परियोजनाले विकासोन्मुख देशका अपाङ्ता भएका बालबालिकालाई सामाजिक सहभागिता गराउने तथा जन्मजात अपाङ्गतालाई निवारण गर्ने लक्ष्य राखेको छ । 
परियोजनाको यो मोडल दुर्गम समुदायका सदस्यलाई अपाङ्ता भएका बालबालिकाको लागि काम गर्न सक्ने बनाउन केन्द्रित छ । यो मोडल सजिलै र प्रभावकारीरुपमा अन्य समुदाय वा देशमा पनि लागु गर्न सकिन्छ । 
‘यो दीगो प्रभाव पार्ने र उच्च सम्भावनायुक्त मोडल हो । इन्स्पायरटूकेयरले आफ्नो लागि आफै काम गर्न खोज्ने समुदायलाई सक्षम बनाउँछ,’ करुणा फाउण्डेसनका निर्देशक दीपक राज सापकोटा भन्छन्, ‘यो मोडल स्थानीय स्रोतको परिचालन गर्ने र आत्मनिर्भर बनाउनमा केन्द्रित छ । यसले गर्दा इन्स्पायरटूकेयर परियोजनाको समाप्तीपछि पनि स्थानीयहरु आफैं यसलाई निरन्तरता दिन सक्षम बन्नेछन् ।’
जन्मजात अपाङ्गता र बालबालिकामा हुने अपाङ्गतालाई घटाइ विकासोन्मुख देशमा अपाङ्गता भएका बालबालिका र वयस्कको जीवनको गुणस्तर सुधार्ने उद्देश्यसहित सन् २००७ मा नेदरल्यान्डस्का एक उद्यमीले करुणा फाउन्डेसनको स्थापना गरेका हुन् । 
करुणा फाउन्डेसनले नेपालमा मात्रै काम गरिरहेको छ । सन् २०१६ देखि राष्ट्रिय गैरसरकारी संस्थाको रुपमा काम गरिरहेको छ । तीन जिल्लामा यसका ६० कर्मचारी छन् । 
सन् २००७ देखि २०१५ सम्मको पहिलो चरणपछि करुणाले हेरचाहको लागि उत्प्रेरणा कार्यक्रमलाई नेपालको दक्षिणपूर्वी जिल्ला इलामभर बिस्तार गरेको छ । आगामी ६ वर्षमा नेपालका एक तिहाई गाउँपालिका तथा नगरपालिकामा विस्तार गरिने करुणा फाउन्डेसनले जनाएको छ ।

Comment