• आज : Monday 28 May 2018
    1:18:15 NST

प्रचण्डले भने :"पार्टी एकता शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न "

 
 
काठमाडौँ, १ फागुन ।  शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न एमालेसँग पार्टीले एकता अगाडि बढाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
 ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताए ।
माओवादी केन्द्रले मात्रै समाजवादी क्रान्ति सम्भव हुन नसककेको आसय जनाउदै उनले भने, “सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।”
संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएर मात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उनले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए ।
देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको स्पष्ट पारे। लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने उल्लेख गर्दै उनले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरे ।
आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे ।
समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उनले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयाससमेत नगर्ने बताए ।
शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीनकरोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले  वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने बताए ।
 

Comment

Related News