• आज : Sunday 25 February 2018
    11:34:56 NST

दाङ र धनकुटा अनिश्चितकालीन बन्द, यात्रुलार्इ सास्ती

दाङ, ३ माघ । प्रादेशिक राजधानीको माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्काइएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै धनकुटावासीले लामो समयदेखि आन्दोलन चर्काउँदै आएका छन् भने प्रदेश नम्बर ५ को राजधानी दाङ हुनपर्ने माग राख्दै दाङमा पनि आन्दोलन शुरु भएको छ । यस अघि प्रदेश नम्बर ७ को राजधानी दिपालयल हुने पर्ने माग राख्दै सुदूरपश्चिममका विभिन्न जिल्लामा आन्दोलन गरिएको थियो । 
दाङमा मंगलबारबाट चर्काइएको आन्दोलनले आजबाट कडा रुप लिएको छ । प्रदर्शनकारीले दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बुधबार बिहानै देखि दाङका बजार र सडक सुनसान बनेका छन्  । दाङमा राजधानी नहुने संकेत पाएपछि दाङमा आन्दोलन सुरु भएको हो । आजदेखि  शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार बन्द गरिएका छन् ।  बन्द कर्ताहरुले पूर्व पश्चिम राजमार्ग समेत ठप्प पारेका छन् । बन्दले लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चल्न नसक्दा यात्रु सास्ती खेप्न वाध्य भएका छन् । 
यसैबीच,  धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आजदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना, शिक्षणसस्था लगायत ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । 
बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भएका छैनन् । सयौंको संख्यामा बन्दकर्ता सडकमा निश्किएर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । जिरोपईन्ट, आत्मारा ढाट, सरस्वती चौक लगायत स्थानमा ढाट राखेर कोशी राजमार्ग अवरुद्ध गरिएको छ । बन्दकर्ताले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । 
धनकुटा बजार, हिले, पाख्रीवास लगायत बजार पनि बिहानैदेखि ठप्प छन् । शैक्षिक सस्था पनि खुलेका छैनन् । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै बिगत पाँच साता यता निरन्तर प्रदर्शन भईरहेको छ । यसअघि पनि ६ दिनसम्म आमहड्ताल गरिएको थियो । सरकारले धनकुटाको शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गरेको भन्दै आन्दोलनलाई शसक्त पारिएको आन्दोलन परिचालन समितिले जनाएको छ । 
 

 

Comment

Related News